गान्तोक, ३१ अगस्त: नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङको नेपाली विभागको आयोजनामा ३५औँ नेपाली भाषा मान्यता दिवस विविध कार्यक्रमसहित सोमबार सम्पन्न भएको छ।
महाविद्यालयको सेमिनार कक्षमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् सिक्किम रूपान्तरण संस्थानका उपाध्यक्ष सी.पी. भट्टराई मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा युवा पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको बताउए। नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गर्न लामो सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै उहाँले नयाँ पुस्ताले भाषाको महत्त्व बुझेर यसको संरक्षण र विकासमा सक्रिय योगदान दिनुपर्नेमा जोड दिए।
उहाँले विद्यार्थीहरूलाई नियमित पुस्तक अध्ययन गर्न, सकारात्मक सोचका साथ अघि बढ्न तथा आफ्नो दक्षता अभिवृद्धि गर्दै लक्ष्यप्रति निरन्तर केन्द्रित रहन आग्रह गरे। विकसित सिक्किम @२०४७ को लक्ष्य हासिल गर्न सक्षम र दक्ष युवा जनशक्ति आवश्यक रहेको बताउँदै उहाँले युवाहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका थिए।
भाषा दिवसका अवसरमा सङ्घ लोकसेवा परीक्षा र नेपाली विषयसम्बन्धी परिचर्चा समेत आयोजना गरिएको थियो। नेपाली विभागका सहायक प्राध्यापक डा. टेकबहादुर छेत्रीको सहजीकरणमा सम्पन्न परिचर्चामा वरिष्ठ पत्रकार एवम् साहित्यकार भीम रावत, वरिष्ठ पत्रकार एवम् कवि प्रवीण खालिङ, कञ्चनजङ्घा राज्य विश्वविद्यालयका सहायक प्राध्यापक डा. सुचन प्रधान, सहायक प्राध्यापक डा. रत्नबहादुर रसाइली तथा स्पेस रिभिजनकी संस्थापक प्रियम्बदा निरौलाले सहभागिता जनाउनुभएको थिए।
परिचर्चामा लोकसेवा परीक्षाको तयारी, परीक्षा प्रणाली, अध्ययन विधि तथा प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्न अपनाउनुपर्ने उपायबारे विद्यार्थीहरूलाई जानकारी र मार्गदर्शन प्रदान गरिएको थियो। युवा उद्यमी अभिमन्यु ढकालले लोकसेवा परीक्षासम्बन्धी विशेष वार्ता प्रस्तुत गर्दै पाठ्यक्रम, अध्ययन विधि, प्रश्नावली तथा परीक्षाको तयारीसम्बन्धी आफ्ना अनुभव साझा गरेका थिए।
कार्यक्रममा महाविद्यालयका प्राचार्य प्रो. डा. देवव्रत पुरोहितद्वारा लिखित ‘फर्स्ट लभ’ कविता सङ्ग्रहको मुख्य अतिथि भट्टराईको बाहुलीबाट लोकार्पण गरियो। कविता सङ्ग्रहबारे डा. हर्जित गोस्वामीले निरूपणात्मक टिप्पणी प्रस्तुत गर्नुभयो।
पुस्तकबारे मन्तव्य राख्दै प्राचार्य पुरोहितले सङ्ग्रहमा समेटिएका कविताहरू विद्यार्थीलाई केन्द्रित गरी लेखिएको बताए। उहाँले नेपाली भाषा तथा साहित्यको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमको आयोजना महत्त्वपूर्ण रहेको उल्लेख मन्तव्य व्यक्त गरे।
कार्यक्रममा नेपाली विभागका विभागाध्यक्ष डा. उदय छेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहायक प्राध्यापक डा. टेकबहादुर छेत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा महाविद्यालयका प्राध्यापक, कञ्चनजङ्घा राज्य विश्वविद्यालयका प्रतिनिधि, साहित्यकार, पत्रकार, पूर्वप्राध्यापक, युवा उद्यमी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
अनलाइन् खबर पत्रिका तथ्य जाँच र आचारसंहिता प्रतिवेदन:
यो सामग्री हाम्रा सम्पादक टोलीद्वारा तथ्य प्रमाणीकरण र प्रेस काउन्सिल अफ इन्डिया आचारसंहिता बमोजिम प्रकाशित गरिएको हो।