वि.सं. २०८३ कार्तिक ९, मङ्गलबार
सिक्किम २५°C
लगइन
लगइन
मुख्य पृष्ठमा फर्कनुहोस् सम्पादकीय नीति र तथ्य जाँच
राज्य

सिक्किम अकादेमी अवार्ड–२०२६ का लागि लोकगायक तथा कलाकारबाट आवेदन आह्वान

Special Correspondent
२०८३ श्रावण २४, शनिबार
१०:१५ बजे | अद्यावधिक: १०:४५
150 पटक हेरिएको
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp Viber
सिक्किम अकादेमी अवार्ड–२०२६ का लागि लोकगायक तथा कलाकारबाट आवेदन आह्वान




गान्तोक, २ सेप्टेम्बर: वर्षेनी प्रदान गरिँदै आएको सिक्किम अकादेमी अवार्ड–२०२६ अन्तर्गत यस वर्ष नेपाली लोकगायन क्षेत्रमा योगदान पुर्‍याउँदै आएका कलाकारहरूबाट आवेदन आह्वान गरिएको छ।



सिक्किम अकादेमीले पत्रकार सम्मेलनमार्फत अवार्डका लागि आवेदन खुला गरिएको जानकारी दिँदै इच्छुक कलाकारहरूलाई निर्धारित मापदण्ड पूरा गरी आवेदन दिन आग्रह गरेको हो। अकादेमीका अध्यक्ष प्रवीण राई ‘जुमेली’ र महासचिव पूर्ण योञ्जनले चयन प्रक्रिया तथा पुरस्कारका नियमबारे जानकारी दिएका हुन्।



अवार्डका लागि सहभागी सिक्किमका बासिन्दा हुनुपर्नेछ। सरकारी कर्मचारी वा सरकारसँग आबद्ध व्यक्तिहरू यस पुरस्कारका लागि योग्य हुने छैनन्। यस वर्षको पुरस्कार विशेषगरी नेपाली लोकगायन क्षेत्रमा प्रदान गरिने अकादेमीले जनाएको छ।



आवेदनका साथ सहभागीले आफ्नो जैविक परिचय तथा आवश्यक कागजपत्रहरू ९७७५९१०९१४ नम्बरमा डिजिटल रूपमा पठाउनुपर्नेछ। लोकगायन क्षेत्रमा गरेको योगदानको प्रमाणस्वरूप रेकर्ड गरिएका गीत, दस्तावेज, प्रमाणपत्रलगायत सामग्रीसमेत उपलब्ध गराउनुपर्नेछ। प्राप्त प्रमाणका आधारमा निर्णायकहरूले प्रारम्भिक चयन प्रक्रिया अघि बढाउनेछन्।



प्रमाणको अभाव भएमा वा रेकर्ड गरिएको सामग्री उपलब्ध नभएको अवस्थामा सहभागीलाई प्रत्यक्ष अडिसनमार्फत आफ्नो प्रस्तुति दिन लगाउन सकिने व्यवस्था गरिएको छ। चलचित्रलगायत अन्य माध्यममा गाइएका गीत तथा अन्य कलाकारका रेकर्ड गरिएका लोकगीतलाई मान्यता नदिइने जनाइएको छ। प्राचीन तथा परम्परागत लोकगीतको सङ्कलनलाई मात्र प्राथमिकता दिइनेछ।



आवश्यक परे अडिसनका क्रममा सहभागीले बाँसुरी/मुरली, सारङ्गी, मादल, मुर्चुङ्गा/बिनायो, हार्मोनियम, डम्फु, ढोल–झ्याम्टा, टुङ्ना, खैँजडी र पात जस्ता परम्परागत बाजा प्रयोग गर्न सक्नेछन्। प्रत्यक्ष प्रदर्शनका क्रममा सहभागी तथा सङ्गत गर्ने कलाकारहरूलाई मदपान गर्न भने पूर्ण रूपमा निषेध गरिएको छ।



अकादेमीका अनुसार हालसम्म यो पुरस्कार एकल व्यक्तिलाई प्रदान गरिँदै आएको भए पनि एकभन्दा बढी दाबेदार योग्य ठहरिएमा निर्धारित पुरस्कार राशि उनीहरूबीच बाँडिनेछ।



प्रत्यक्ष प्रदर्शनका लागि छनोट भएका सहभागीलाई आउने–जाने सवारी खर्च सिट सेयरिङको आधारमा उपलब्ध गराइनेछ। तर, आवासको व्यवस्था अकादेमीले नगर्ने स्पष्ट पारिएको छ। प्रत्यक्ष प्रस्तुतिका क्रममा आवश्यक सङ्गत गर्ने कलाकारहरूको समेत अकादेमीले प्रबन्ध गर्ने जनाएको छ।



चयन प्रक्रिया जटिल भएकाले निश्चित मापदण्डअनुसार व्यवस्था गरिएको उल्लेख गर्दै अकादेमीले नेपाली लोकगायन क्षेत्रमा सक्रिय सबै कलाकारलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ। निर्णायकहरूको नामावली भने सम्पूर्ण चयन प्रक्रिया सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।



आवेदन दिने अन्तिम मिति ३० सेप्टेम्बर २०२६ तोकिएको छ। सो दिन साँझ ४ बजेपछि आवेदन स्वीकार नगरिने अकादेमीले जनाएको छ।
अनलाइन् खबर पत्रिका तथ्य जाँच र आचारसंहिता प्रतिवेदन:
यो सामग्री हाम्रा सम्पादक टोलीद्वारा तथ्य प्रमाणीकरण र प्रेस काउन्सिल अफ इन्डिया आचारसंहिता बमोजिम प्रकाशित गरिएको हो।

सम्बन्धित समाचारहरू

News

Yak Calf Rally Held at 15,000 Feet in Lachen

News

तादोङमा ३५औँ नेपाली भाषा मान्यता दिवस सम्पन्न

News

Sikkim High Court Reconstitutes Committee to Review Court Rules and Record Management